काठमाण्डौ – यूएईलाई हराउँदै नेपाल आउँदो वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनोट भएको छ । आज मूलपानी क्रिकेट मैदानमा भएको आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा नेपालले यूएईलाई ८ विकेटले हराएको हो ।
यूएईले दिएको १ सय ३५ रनको लक्ष्य नेपालले १७ ओभर १ बलमा भेटायो । नेपालका आसिफ शेखले अर्धशतक बनाए । आसिफले ५० बलमा ६३ रन जोडे । यस्तै कप्तान पौडेलले ३३ रन बनाए । बलिङतर्फ यूएईका बसिल हमीद र निलान्श केसवानीले समान १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन बनायो । यूएईका वृत्य अरविन्दले सर्वाधिक ६४ रन बनाए । यस्तै मुहम्मद वसिमले २६, अलिशान शरुफुले १६ र आशिफ खानले १३ रन जोडे । बलिङतर्फ नेपालका कुशल मल्लले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए । यस्तै सोमपाल कामी र रोहित पौडेलले समान १ विकेट लिए ।
नेपाल १० वर्षपछि टी-२० विश्वकपमा छनोट भएको हो । यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक टी-२० विश्वकप खेले पनि त्यसपछि छनोट हुन सकेको थिएन ।
अब नेपालले टी-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा पर्सि आइतवार ओमानसँग कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा खेल्नेछ । फाइनल खेल बिहान ११ बजे शुरु हुनेछ ।स्रोत उज्यालो