कल्पना खरेल,नवलपरासी । आज पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नं. ७ बुलन्दपुरमा अबैध रुपमा भन्सार छलि ल्याइएका कपडा बरामद गरिएकाे छ । बिहान अन्दाजी ५ बजे बिभिन्न प्रकारका कपडाहरु पैदल मार्गबाट टाउकोमा बोकी ल्याउदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरीक्षक फल बहादुर तामाङको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले करिब १२ लाख ७० हजार ४ सय बराबरकाे अबैध कपडाहरू बरामद गरेकाे हाे ।
बरामद गरिएकाे कपडाहरूमा थान कपडा, जयपुरी साडी, जयपुरी सुट, रेडिमेट बलाउज, जेन्स कुर्ती, लेडिज सुट र रेडिमेट टप्स लगायत रहेकाे प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभएकाे छ ।
प्रहरीलाई देखेपछि मानिसहरू कपडाहरू सोहि स्थानमा फाली भागेका थिए । नियन्त्रणमा लिईएका कपडाहरूलाई आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाउने तयारी भइरहेकाे समेत डिएसपी बाेहराले बताउनुभयाे । कसले ल्यायाे भन्ने विषयमा थप अनुसन्धान कार्य भैरहेको छ ।