ताजा अपडेटः

कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न, झन्डै १२ सय मेगावाट विद्युत् प्रसारण हुने

कल्पना खरेल
कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न, झन्डै १२ सय मेगावाट विद्युत् प्रसारण हुने प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलवार १३:०६

काठमाण्डौ – कालीगण्डकी र यसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् राष्ट्रिय प्रणालीमा समाहित गर्नका लागि कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।
म्याग्दीको अन्नपूणर् गाउँपालिका-३ दाना सबस्टेसनबाट शुरु भइ पर्वत, बाग्लुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका-१३ भुमहीमा रहेको नयाँ बुटवल सबस्टेसनसम्मको करिब १४० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । प्रसारण लाइन निर्माण सम्पन्न भएसँगै करिब १२०० मेगावाटसम्म विद्युत् प्रसारणका लागि पूर्वाधार तयार भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण गरेको थियो । पहिलो खण्डअन्तर्गत दानादेखि पर्वतको कुश्मा नगरपालिका-२ खुर्कोटसम्मको करिब ४० किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भइ सञ्चालनमा आइसकेको छ । पहिलो खण्डमा नै खुर्कोटमा २२०/१३२ केभी र दानामा २२०/१३२/३३ केभी सबस्टेसन निर्माण सम्पन्न भइ सञ्चालनमा छन् । दुवै सबस्टेसनमा १००/१०० एमभीए क्षमताका पावर ट्रान्सफर्मरहरु राखिएका छन् ।
दोस्रो खण्डअन्तर्गत कुश्माबाट नयाँ बुटवल सबस्टेसनसम्मको करिब ९० किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न गरी सोमवारदेखि चार्ज गरी सञ्चालनमा ल्याइएको छ । यस खण्डमा २३६ वटा टावरहरु निर्माण गरिएको छ । सुनवल नगरपालिका-१३ बडेराबाट नयाँ बुटवल सबस्टेसनसम्म २२० केभीको चार सर्किट (मल्टी सर्किट) लाइनका लागि टावरहरु निर्माण गरिएको छ । नयाँ बुटवलमा २२० केभीको सबस्टेसन निर्माण गरिएको छ । दोस्रो खण्ड सञ्चालनमा आएसँगै कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माण सम्पन्न भएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालनमा आएपछि एकीकृत विद्युत् प्रणालीको विश्वसनीयता बढ्ने र नवलपरासी, रुपन्देहीलगायतका क्षेत्रको भोल्टेज सुधार हुने बताउनु भएको छ ।




Ads