दाङ – फिरन्ते जीवन बिताइरहेका राउटे समुदायका प्रतिनिधिले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग भेटघाट गरेका छन् ।
आज मुख्यमन्त्री कार्यालयमा आएका राउटे मुखियाका प्रतिनिधि बिर्खेबहादुर शाहीको टोलीले मुख्यमन्त्रीसँग भेटघाट गरेको हो । भेटमा राउटे मुखियाका प्रतिनिधि शाहीले दशैँ खर्च दिन मुख्यमन्त्रीलाई आग्रह गर्नुभएको हो ।८६ घरपरिवार रहेका राउटे सामुदायलाई दशैँ मनाउन खर्चको लागि दुई लाख रुपैयाँ मन्त्रीहरु मिली दिन माग गर्नुभएको थियो ।
यस्तै शाहीले आफूहरू अहिले दैलेखमा बसिरहेको र दशैँ खर्च जुटाउनका लागि दाङ आएको बताउनुभयो ।
मुख्यमन्त्री चौधरीले सरकार राउटे समुदायलाई सहयोग गर्न, दशैँ खर्चको व्यवस्थापन गर्न सकारात्मक भएको बताउनुभयो । उहाँले सरकारले राउटेहरूलाई पहिलेदेखि नै दशैँ खर्च दिँदै आएको बताउदैँ राउटेलाई दशैँमा समस्या नहोस भन्दै लुम्बिनीले पनि केही सहयोग गर्ने बताउनुभयो ।