ताजा अपडेटः

तीन वर्षमा वैदेशिक रोजगारीका क्रममा रोल्पाका ३९ जनाले गुमाए ज्यान

कल्पना खरेल
तीन वर्षमा  वैदेशिक रोजगारीका क्रममा  रोल्पाका ३९ जनाले गुमाए ज्यान प्रकाशित मिति: ११ श्रावण २०८०, बिहीबार १७:४६

राेल्पा । राेल्पाका ३९ जनाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन् । जिल्ला प्रशासन कार्यालयको आप्रवासी सूचना केन्द्रको अभिलेख अनुसार तीन वर्षको अवधिमा ३९ जनाले ज्यान गुमाएको हो ।

सूचना केन्द्रमा प्राप्त निवेदनका आधारमा ज्यान गुमाउनेको सङ्ख्या अद्यावधिक गरिए पनि वास्तविक ज्यान गुमाउनेकाे संख्या याे भन्दा धेरै हुनसक्ने सूचना केन्द्रका कर्मचारी स्मृति रोकामगरले बताउनुभयो । यस अवधिमा सबैभन्दा धेरै ज्यान गुमाउने परिवर्तन गाउँपालिकाका छन् । कम ज्यान गुमाउनेको सङ्ख्या थवाङ र माडी गाउँपालिकामा छ ।

परिवर्तन गाउँपालिकाबाट यस अवधिमा आठ जनाले ज्यान गुमाएको अभिलेखमा उल्लेख छ । यसैगरी थवाङ र माडी गाउँपालिकाबाट यस अवधिमा एक/एक जनाले ज्यान गुमाएका छन् । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने अन्य पालिकामा रोल्पा नगरपालिका र रुन्टीगढी गाउँपालिकाबाट छ/छ जना, सुनिलस्मृति गाउँपालिकाबाट पाँच, लुङ्ग्री गाउँपालिकाबाट चार जनाले ज्यान गुमाएका छन् । यसैगरी त्रिवेणी र गङ्गोदव गाउँपालिकाबाट तीन/तीन जना र सुनछहरी गाउँपालिकाबाट दुई जनाले ज्यान गुमाएका छन् ।

रोजगारदाता राष्ट्रका आधारमा सबैभन्दा धेरै साउदी अरबमा २० जनाले ज्यान गुमाएका छन् । यसैगरी मलेसियामा सात, कतार र यूएईमा तीन/तीन, कुवेतमा दुई तथा अल्जेरिया, क्रोसिया, शिसालिसलगायत देशमा एक/एक जनाले ज्यान गुमाएका छन् ।

वैदेशिक रोजगारीमा जानेका लागि परामर्श सेवा दिन जिल्ला प्रशासन कार्यालयमा सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । हेल्भेटासको सहयोगमा स्थानीय गैरसरकारी संस्था विकास सरोकार समाजले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी स्रोतकेन्द्र स्थापना गरेको हो ।




Ads