ताजा अपडेटः

रेशम फिरिरी नेपाल संस्थाद्वारा विद्यार्थीहरुलाई स्विटर वितरण

कल्पना खरेल
रेशम फिरिरी नेपाल संस्थाद्वारा विद्यार्थीहरुलाई स्विटर वितरण प्रकाशित मिति: १६ मंसिर २०७९, शुक्रबार १८:५६

नवलपुर।रेशम फिरिरी नेपाल संस्थाले विद्यार्थीहरुलाई आज स्विटर वितरण गरेको छ । नवलपुरको मध्यविन्दु ७ अम्रसामा रहेको लक्ष्मी आदर्श आधारभूत विद्यालयमा अध्ययनरत ४१ जना बालबालिकाहरुलाई जाडोमा न्यानो कपडा स्विटर वितरण गरिएको विद्यालयका प्रधानाध्यापक ऋषिराम भुसालले जानकारी दिनुभयो ।
आज एक औपचारिक कार्यक्रमको आयोजना गरी सोहि विद्यालयबाट यो बर्ष न्यानो कपडा वितरणको सुरुवात गरेको रेशम फिरिरी नेपाल संस्थाका अध्यक्ष दिपक पंगेनीले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि रहनुभएका मध्यविन्दु नगरपालिकाका कार्यपालिका सदस्य तथा मध्यविन्दु ७ का वडा सदस्य शिव कुमारी मल्लले रेशम फिरिरी नेपाल विपन्न परिवारका लागि छत्रछायाँ बनेको भन्दै आगामी दिनमा थप सहयोगको लागि जुट्न र हातेमालो गर्न नगरपालिका सदैव तयार रहेको बताउनुभयो ।
यस्तै कार्यक्रममा विशेष अतिथिका रुपमा रहनुभएका रेशम फिरिरी नेपाल संस्थाका अध्यक्ष दिपक पंगेनीले अब विद्यालयलाई शैक्षिक सामाग्री मात्र नभई भौतिक सामाग्री टेलिभिजन , पंखा , रंग रोगनमा पनि सहयोग गर्ने बताउनुभयो । फ्रान्सेली नागरिकहरुले नेपाल र नेपाली माथि गरेको सहयोगलाई मुर्तरुप दिन आफुहरुले रेशम फिरिरी नेपाल नामक संस्था संचालन गरेको र यो संस्थाले विशुद्ध नाफा रहित तवरले विपन्न परिवारका बालबालिकाको पढाइमा ध्यान दिएको पनि अध्यक्ष पंगेनीले जानकारी दिनुभयो ।
यसवर्षको जाडोमा झन्डै १६०० जना विपन्न परिवारका विद्यार्थीलाई स्विटर वितरण गर्ने लक्ष्य रहेको पनि अध्यक्ष पंगेनीले बताउनुभयो ।
कार्यक्रममा रेशम फिरिरी नेपाल संस्थाका विदेशी सहयोगी फ्रान्सका मिस्टर पिएर र मिसेस तेरेज , रेशम फिरिरी नेपाल संस्थाका सचिव तारानाथ न्यौपाने , मध्यविन्दु ७ का पुर्व वडा सदस्य कमल महतो , विद्यालय व्यवस्थापन समितिका सदस्य सुवास पराजुली र बालबालिकाहरुको उपस्थिति रहेको थियो ।
रेशम फिरिरी नेपाल संस्थाले मध्यविन्दु , हुप्सेकोट , कावासोती लगायतका पालिकाका करिब ६० ओटा विद्यालयलाई शैक्षिक तथा भौतिक सहयोग गर्दै आईरहेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद पोख्रेलको अध्यक्षता तथा कार्यपालिका सदस्य शिव कुमारी मल्लको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रधानाध्यापक ऋषिराम भुसालले स्वागत मन्तव्य राख्नुभएको थियो ।